विज्ञापन लोड हुँदैछ...
मुख्य पृष्ठमा जानुहोस्

बलु र ट्वाके बाजे ( पल्टन र जेरी )

बलु र ट्वाके बाजे ( पल्टन र जेरी )
जोग्क्षेन लामा

जोग्क्षेन लामा

लेखक / स्तम्भकार

मितिचैत्र १२, २०८२
भ्युज४२३

पल्टन र जेरी

 

ट्वाके बाजेले जेरी चरप्प चपाए अनि सुरु गरे "म भर्खर १७ लागेको थिएँ, त्यस्ता उड्ने चराहरु त उफ्रेर हातले च्याप्प समाउने जोश। पल्टनतिर जागिर खाँदा पैसा गन्न नसक्ने गरी आउँछ भन्थे, म पनि गन्न नसक्ने पैसा कमाउने भनेर घरबाट भागेर पल्टन पुगेँ। पैसा त त्यस्तै हो टेर्लिङ भने जस्तो, बिहान सबेरै उठेर यता भाग उता भाग, त्यो बोक, यता खान उता जोत, पहाड चढ, पहाड झर, दायाँबायाँ भयो कि बुट भेट्ने आम्ममामा सास्ती त कति कति। पल्ला गाउँको अम्बरेको बा पल्टनबाट आउँदा त राजा झैँ लाग्थ्यो, आफू पनि त्यस्तै राजा बन्छु सोचेर पल्टन हिँडेको, त्यहाँ पुगेपछि के का राजा हुनु, बाजा बज्जी गयो नि मेरो, सारै दुःख पो थियो त पल्टन।"

 

यति भन्दै गर्दा बलु चनाखो भएर सुनिरहेको थियो। बलुलाई हेर्दै बाजेले भने "सुन बलु, जुनसुकै कुरा पनि बाहिरबाट जस्तो देखिन्छ भित्र पनि उस्तै हुन्छ भन्ने केही ग्यारेन्टी हुन्न बुझिस। ड्राइभरलाई देखेर आहा कस्तो मज्जाको काम हिँड्ने नपर्ने सोच्छस् नि त, उसलाई कति गाह्रो हुन्छ। छिसिक्क तलमाथि हुने बित्तिकै ज्यान चैट हुन्छ। त्यसैले कसैको जिन्दगी देखेर त्यसलाई क्या राम्रो छ आफू पनि त्यस्तै हुन पाए हुन्थ्यो सोचेर दुःखी नभएस। कसैले केही कुरा राम्रो छ, हुन्छ भन्ने बित्तिकै आँखा चिम्लेर विश्वास नगरेस। जे कुरा गर्न पनि सोच विचार गर्नुपर्छ, आफ्नो बुद्धि लाउनुपर्छ बुझिस।" बलुले खासमा के भनिराको हो भनेर त्यति बुझ्दैन, तैपनि टाउको हल्लाउँदै "हस्" भन्छ।

 

पल्टन पुगेपछि अरु के के भयो भन्ने कुरा सुन्न हतार भएको बलुले उत्सुक हुँदै सोधिहाल्छ "त्यसपछि के भयो अनि...?" बलुको प्रश्नले बाजे हाँस्छन् अनि भन्छन् "कहाँ निर पुग्या थिएँ रे म?" बलु झटपट "टेर्लिङ गर्दा सास्ती भएको रे तपाईँलाई, त्यहाँ निर पुगेको" भन्छ। "अ रातदिन टेर्लिङ हो, खाना पनि कहिले त एक ट्याम मात्र, त्यत्रा पल्टन बथानलाई एक किलो दाल त्यसमै आधा किलो आलु, गोभी अनि २ गाग्री पानी। त्यो पनि यति मिठो हुन्थ्यो नि अहा हा...। बुझिस बलु मान्छेलाई खाना मिठो हुने होइन रैछ नि भोक पो मिठो हुने रैछ। भोकाएको बेला बासी ढिडो पनि बासमती चामलको भातभन्दा मिठो लाग्छ तर भोक छैन भने बासमतीको भात पनि मिठो लाग्दैन।"

 

बलु खासै नबुझे नि बुझेझैँ गरेर टाउको हल्लाउँछ। बलुले हेरेर ट्वाके खितिति हाँस्दै भन्छ "अहिले अलि बुझ्दैनस् केटो भोलिपर्सी अलि ठुलो भएपछि सबै बुझ्दै जान्छस्" बलु सिंगान स्वाट्ट तान्दै हाँस्छ....

 

" टेर्लिङ सकेपछि हामीलाई यता उता पोस्टिङ गरिराथ्यो। पोस्टिङकै बेला एकचोटी अफगानस्थान भन्ने देशको खै के पो भन्ने शहर पुग्यौँ। पल्टन लागेदेखि पहिलो चोटी अलि बजार ठाममा पुगेको, त्यतातिर दोकानहरु रैछन् टन्नै। हामी पल्टन गोला, बन्दुक बोकेको त्यही माथि गोर्खे खुकुरी सबै मान्छे डरले थुरुरु... कम्ता शान होइन हाम्रा। बजार घुम्दै जाँदा बुझिस बलु मिठाईको दोकानमा पुग्यौँ, वर्षौँदेखि मिठाई खान त के सुँघ्न नि नपाएको हामी हतारिँदै मिठाई दोकानमा पुग्यौँ। त्यहाँ जेरी, स्वारी अनि अरु मिठाईहरु पनि थिए, हामी साथीभाइ हतारमा जथाभावी हात हाल्दै खान थाल्यौँ। यो पनि खाऊ त्यो पनि खाऊ लागेर हैरान, मनले त सबै खाऊ सोचे नि मुख त एउटै कता खान सक्नु एकैचोटी। लोभ पनि कस्तो भने अरुले खालान भनेर हामीले ती सबै मिठाईहरुमा थुक्न थाल्यौँ। एकैचोटी खान नसके नि हाम्रो थुक परेको त अरुले खान्नन् क्यारे बिस्तारै हामीले नै खान पाउँछौँ सोचेर थुक्यौँ। हामीले त्यसरी मिठाईमा थुकिरहँदा पसलको साहु भने निन्याउरो मुख पारी टुलुटुलु मात्र हेरी रह्यो, पल्टनलाई केही भन्ने हिम्मत कसको...? ? ? "

 

थुकेको कुरा सुनेर बलु खित्का छोडेर हाँस्दै भन्न थाल्यो "सबै मिठाईमा थुक थुक गरेर थुक्दिनु भाको? हा हा हा थुक थुक... हा हा..." बलु खित्का छोडेर हाँसेको देखेर ट्वाके बाजे पनि थोरै हाँस्दै भने "धेरै खाने लोभले त्यसरी थुकी हाल्यौ तर २/३ ओटा जेरी स्वारी खाएपछि त खानै पो सकिएन। त्यसपछि बल्ल दोकान साहुलाई हेर्यौँ, बिचरा अँध्यारो मुख लाएर घरी हामीलाई घरी मिठाईतिर हेर्दै थियो। उसले मुख खोलेर केही नभने पनि हामीलाई महसुस भैहाल्यो कि हामीले नराम्रो काम गर्यौँ भनेर। आफुले खाइञ्जेलको मात्र लिएर अरु मिठाईहरुमा नथुकि राखेको भए, हाम्रो पेट पनि भर्थ्यो अनि बाँकीको मिठाई अरुलाई बेच्न पनि मिल्थ्यो। बिचरा साहुको त्यति सारो नोक्सानी नि हुँदैन थियो। त्यो दिन मैले के बुझे भने आफ्नो क्षणिक स्वार्थ मात्र हेर्दा अरुलाई हानी र हामी आफैँलाई पछि सम्म ग्लानी पछुतो लाइरहने रैछ। त्यही भएर आफूलाई चाहिनेभन्दा बढी लोभ केही कुरामा नि नगरेस बलु।" बाजेको कुरा सुनेर बलु टाउको कन्याउँदै हुन्छ भन्ने भावले टाउको तलमाथि गर्यो।

 

"पुग्यो तँलाई जेरी बलु?" जेरी देखाउँदै ट्वाके बाजेले सोधे। सानो बच्चालाई कति पो चाहिन्छ र पेट भर्न, एउटा जेरीले बलु अघाइसकेको थियो। उसले अघि लोभ गरेर २/३ ओटा एकैचोटी खान खोजेको सम्झ्यो अनि भने "पुग्यो बाजे, मैले नि अघि लोभ गरेर एकैचोटी २/३ ओटा जुठो गरेको भए बेकारमा खेर जाने रैछ है बाजे "। बलुको कुराले ट्वाके बाजे खुशी हुँदै "स्यावास... बुझ्ने भइसकिस अब" भन्दै बलुको पिठ थप थप्यायो....       क्रमश . . . 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

विज्ञापन लोड हुँदैछ...
Edify Nepal