बलु र ट्वाके बाजे ( " एक एक लातको बाजी " )


जोग्क्षेन लामा
लेखक / स्तम्भकार
निन्द्राबाट बिउझिँदा झलमल उज्यालो भइसकेको थियो। आँखा मिच्दै यताउती हेर्दा बलुले आमालाई कतै देखेन। यसो ओछ्यानबाट उठेर हेर्दा घाम ठ्याक्कै आँगनमा आइसकेको रहेछ। "लौ जा आँगनमा घाम आइसकेछ, स्कुल जान ढिला भइसकेछ, आमाले मार्ने भो" सोच्दै हतार हतार स्कुल ड्रेस लगाउन थाल्छ। "आमा ओ आमा..." भन्दै बलु तल झर्छ। बलुकी आमा अगेनामा आगो फुक्दै तरकारी चलाइरहेकी हुन्छिन्। "दिनभरि डुल्छस्, कुद्छस् अनि स्कुल जान नि ढिला हुने गरी सुत्छस्" बलुकी आमा बलुलाई हतार गरिरहेको देखेर भन्छिन्। आँगनमा आइपुगेको घाम देखाउँदै "आँगनमा घाम लागिसक्यो, छिटो हात मुख धोएर आइज म खाना पस्किन्छु" भन्छिन्।
हतार हतार बलु खाना खान थाल्छ। फु फु गर्दै बलु गप्ल्याक गुप्लुक एकै छिनमा सबै खाना खाई भ्याइदिन्छ। अनि हिजो होमवर्क गर्दा छरिएको कपि किताब समेटेर झोला भित्र हाल्छ। झोला भिरेर "आमा म गएँ है..." भनेर पुरै स्पीडमा कुद्छ। "लड्ला है बलु बिस्तारै जा..." बलुकी आमा बाहिर निस्केर कराउँछिन्, बलु एक सुरले बत्तिन्छ।
घोडाको गतिमा कुदेको बलु स्कूल पुग्दा एक दुई जना विद्यार्थी बाहेक कोही आइपुगेको थिएन। स्या स्या गर्दै बलु "डेन्जर स्पीड कुदे कि क्या हो म? कोही आइपुगेको छैन रहेछ त" सोच्छ। कक्षा भित्र पस्दा कोही पनि आएका थिएनन्, बलुले ढोका निरबाटै आफ्नो झोला आफू बस्ने बेञ्चतिर फ्याक्यो अनि आफू बाहिर खेल्न निस्क्यो। धारामाथि चढेर पानी खाँदै गर्दा उसको कक्षाको साथीहरू आइपुगे। "बले कति चाँडै आको आज? सबभन्दा अगाडि आइपुगेछ त" सचिनले अचम्म मान्दै सोध्यो। सचिन बलुको मिल्ने साथी, सचिन देख्ने बित्तिकै धाराबाट हाम फालेर ग्वाम्म आफ्नो हात सचिनको काँधमा राख्छ अनि "८ चोटी सास फेर्दा स्कुल आइपुग्ने रहेछ यार... अझै स्पीड आए त ४ चोटी सास फेर्दा नै आइपुग्ने रहेछ" भन्दै गफ लाउन थाल्छ।
बलुको गफ सुनेर सचिन चिम्सा आँखा अझ चिम्साउँदै "हो र?" भनी प्रश्न गर्छ, तर सचिनसँगै आइपुगेको गम्भीर र धनेलाई भने बलुको गफ पच्दैन। "फटाह, थुक्क फटाह गफ दिन्छ बले, १० चोटि सास अहिलेको अहिलेइ फेरिसकिस घरबाट स्कूल जम्मा ८ चोटी सास फेरेर रे अझ, थुक्क" भन्दै गम्भीर हाँस्न थाल्यो, गम्भीरसँग हो मा हो मिलाएर धने पनि हाँस्न थाले। बलुले सचिनतिर पुलुक्क हेर्यो सचिन पनि ङ्गिच्च दाँत देखाएर हाँसिरहेको थियो। त्यो देखेर बलुले केही पनि बोलेन, सचिन नहासेको भए बलुलाई कम्ताको रिस उठेको थिएन त।
कक्षा कोठा छिर्दै गर्दा सचिनले भन्यो "मान्छेले राम्रोसँग ट्रेनिङ गर्यो भने कति धेरै मिनेटसम्म सास रोकेर बस्न सक्छ रे। २९ मिनेटसम्म पानीमुनि सास रोकेर बसेको रे एक जना"। सचिनको कुरा सुनेर बलु दङ्ग खायो, "अम्मामा तेत्रो नि रोक्न सक्छ रे?" भन्ने लाग्यो। बलु दङ्ग खाँदै गर्दा धनेले फ्याट्ट "कसले भनेको तिमीलाई? हावा, बले जस्तै फटाहा बोल्दो रैछ" भनिहाले। बलुलाई रन्को छुट्यो, जङ्गेर कराउने लाको थियो सचिनले "हाम्रो बाबाको मोबाइलमा देखेको, हिजो भर्खर तेही समाचार आइराको थ्यो खै का को कुइरे त्यसरी पानीमुनि बसेको भनेर, बाबा र मैले सँगै हेरेको" भने। बलुले नि "हो त तिमीहरुलाई जे भने पनि फटाहा हुन्छ?" कड्किँदै सचिनलाई साथ दियो।
बलुले सचिनको नाक थापेको देखेर गम्भीरलाई रिस उठ्यो अनि प्याच्च "तेरो घरमा मोबाइल छ र? तैंले कसरी थाहा पाइस साँचो कि झुटो भनेर? कति न आफैले हेर्या जस्तो डन बन्दो रैछ" भन्यो। गम्भीरको कुरा सुनेर बलु रिसले रातो पिरो भयो। हिजो बेलुका भर आमालाई मोबाइल किन्ने कुरा गरेको बिर्सिसकेको बलु फेरि त्यही मोबाइलको कुरा सम्झिन थाल्यो। यो सब गम्भीरको कुराले भएको थियो बलुलाई त्यहीँ निर गम्भीरलाई भकुरौँ जस्तो लागिसकेको थियो। आफ्नो आमासँग मोबाइल नभएकोले सबैले हेपेको महसुस झन् बढी गर्न थाल्यो बलु, रिसले दाँत किड्न थाल्यो। सचिनले बलु रिसाएको कुरा थाहा पाइहाल्यो अनि "बलुको मोबाइल छैन भन्दैमा उसलाई फटाहा मात्र बोल्छ भन्ने के छ? सबैको घरमा मोबाइल हुने पर्छ? मैले आफैले हेरेको समाचार हो ल त्यो कसरी फटाहा भयो?" भन्दै गम्भीरलाई करायो। यति भनेर सचिनले बलुतिर पुलुक्क हेर्यो बलु अझै रिसले रोला झैँ भइरहेको थियो। गम्भीर र धने पनि मुख बिगार्दै बसिरहेका थिए।
सचिनले दिमाग लाउँदै भन्यो "ल तिमीहरु फटाहा कि हामी फटाहा अहिले सर आएपछि सोध्ने अनि जो फताह निस्किन्छ त्यसले एक एक लात खानु पर्छ, ल बाजी राख्ने ल, हुन्छ?" सचिनको कुरा सुनेर बलु नि सुर्किन्छ अनि "ल बाजी ल, सक्छ? ल हुन्छ?" भन्छ। गम्भीर र धने पनि अब जोशमा आइसकेका हुन्छन्, उनी दुईजना नि के को कम हुनु "ल बाजी ल" एकै स्वरमा भन्छन्। अब बलु र सचिन अनि गम्भीर र धनेको बीचमा हुन्छ " एक एक लातको बाजी " क्रमशः...
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?