विज्ञापन लोड हुँदैछ...
मुख्य पृष्ठमा जानुहोस्

बलु र ट्वाके बाजे ( आमा हामी नि ठुलो मोबाइल किन्ने नि ल !? )

बलु र ट्वाके बाजे ( आमा हामी नि ठुलो मोबाइल किन्ने नि ल !? )
जोग्क्षेन लामा

जोग्क्षेन लामा

लेखक / स्तम्भकार

मितिचैत्र २८, २०८२
भ्युज१४५

आमा हामी नि ठुलो मोबाइल किन्ने नि ल !?

 

खाना पाकिसके पछि दुवैजना अगेना छेउमा थाल फिजाएर खाना पस्काउन तयार भए। बलुको आमाले पहिला बलुलाई खाना पस्किइन, त्यसपछि मात्र आफूलाई पस्किइन। बलुले त्यो देखेर भन्यो, "आमा पहिले बुवा हुँदा बुवालाई पस्किनु हुन्थ्यो, त्यसपछि मलाई अनि मात्र लास्टमा तपाईँलाई पस्किनु हुन्थ्यो है! किन आमा तपाइले पहिले अरुलाई पस्किनु हुन्छ अनि पछि मात्र आफूलाई पस्किनु हुन्छ?" बलुको प्रश्न सुनेर बलुको आमा थोरै हाँस्छिन् अनि जिस्किँदै भन्छिन्, "तिमहरू ठुलो मान्छे हो नि त, म सानो मान्छे। ठुलो मान्छेलाई पहिला पस्केको तेही भएर।"

 

बलु आफ्नो बुवा आमा भन्दा ठुलो भन्ने त बुझ्छ तर आफू कसरी आमा भन्दा ठूलो भएर सोचेर "बुवा पो तपाईँ भन्दा ठुलो त म कसरी ठुलो तपाईँ भन्दा?" भन्छ। बलुको आमा खाली हाँस्छिन् मात्र, केही भन्दिनन्। बलु अझै कौतुहल भएर कसरी म ठूलो भए सोचिरहन्छ, आमाको माया, ममता नबुझेर सोचिरहन्छ।

 

आलु गोभीसँग खाना सुरुप्प पार्दै बलु भन्छ, "आमा, बुवा त यति खेर सुतिसक्नु भयो होला है! यहाँ त यति रात परिसक्यो।"

 

##  "पैसा कमाउन अरब छिरेका बलुको बुवा कुनै कम्पनीमा सेक्युरिटी गार्डको काम गर्थे। कहिले दिनमा, कहिले रात, ड्युटीको ठेगान थिएन। काम दिनको केही नभए पनि १४ घण्टा, टक्क बुट पेटी लाएर उभिने। सुने अनुसार महिनाको काटी कुटी २८००० जति तलब हात पर्थ्यो अरे। ऋणलाई निमिट्यान्न पार्ने उद्देश्य बोकेर अरब छिरेको बलुको बुवाले डेढ वर्ष हुँदा पनि आधाआधी ऋण तिर्न सकिरहेको थिएन।" ##

 

बलुको प्रश्नले बलुको आमाको मनमा चिसो पस्छ। तैपनि सम्हालिँदै भन्छिन्, "अस्ति फुपुको मोबाइलमा बोल्दा खेरी त रातभरी काम छ भन्नु हुन्थ्यो तेरो बा, अहिले नि ड्युटी तिरै होलान्।" बलु अर्को गाँस मुखमा हाल्दै "अनि रातभरी कसरी ड्युटी गर्ने त? निन्द्रा लाग्दैन त बुवालाई?? म त अनि अलि अलि रात पर्यो कि कस्तो झुपू झुपू हुन्छ त!" भन्छ।

 

"जिम्मेवारी आएपछि यस्तै हो बलु, दिनको भोक, चैन, रातको निन्द्रा सबै हराउँदै जान्छ।" बलुको आमा मनमनै यस्तो सोच्छिन् तर "तेरो बुवा बलियो ठुलो छ नि त तेही भएर निन्द्रा सिन्द्रालाई जित्दिन्छ। अनि रातभरी मज्जाले ड्युटी गर्नु हुन्छ" भनेर जवाफ दिन्छिन्। यति भन्दै गर्दा बलुको आमाको गला अलिक अड्किएको जस्तो भयो, आँखामा टिलपिल आँसुहरू आए, यो सबलाई लुकाउन करुवाबाट पानी घुटुक्क पारी।

 

आमाको मुहारबाट बलुले आमा निराश हुनु भएको बुझिहाल्यो। आमालाई हेरिरहँदा बलुको दिमागमा बुवासँग मज्जाले कुरा गर्न पाए सबै कुरा सोध्थे भन्ने कुरा खेल्न थाल्यो। "आमा हाम्रो पनि फुपुको जस्तै ठूलो मोबाइल किन्ने नि है। स्कुलको साथीहरू सबै सँग त्यस्तै ठुलो मोबाइल छ रे। बुवासँग बोल्न पनि जहिल्यै तपाईँ फुपुको मोबाइल माग्न जानु पर्छ। त्यो पनि एकछिन भन्दा बोल्न दिँदैनन्। हामी पनि मोबाइल किन्ने ल आमा!?"

 

बलुको कुरा सुनेर बलुको आमा सुस्केरा हाल्छिन्, बलु भने एक सासमा "है, आमा बुवालाई भन्नु न पैसा पठाउनु भनेर। है आमा, त्यसपछि त हामी नि जति खेरी बुवासँग बोल्न पाइन्छ। है आमा अनि मोबाइल किन्नु भो भने म गाउँतिर नि डुल्दिन। ट्वाके बाजेकोमा नि जादिन। घरमै बस्छु, हुन्छ आमा? किन्ने है।"

 

बलुले सोचे झैँ बलुको आमाले नि मोबाइल किन्ने कुरा सोचेकी त हैन तर मोबाइल भन्दा पहिले ऋण तिर्न पाए हुन्थ्यो, धेर थोर पैसा बचत गर्न पाए हुन्थ्यो, बलुको बुवालाई चाडै नेपाल फर्काउन पाए हुन्थ्यो भन्ने कुरा मोबाइल किन्ने कुरा भन्दा हाबी हुन्थ्यो। बलुको बुवासँग कुरा गर्दा नि "ऋण मात्र सक्न पाए त हेर बुढी म यो ठाउँमा एक मिनेट नि बस्दिन। ज्यानलाई नि सास्ती, न त इमानलाई इज्जत। ऋण सकेको भोलिपल्टै फर्कन्छु" भनि रन्थे। बलुलाई के थाहा उसलाई जस्तै रहर उसको आमा बुवालाई पनि लाग्छ भनेर।

 

आमा केही नबोली टोलाइरहेको देखेर आमालाई झस्काउँदै "आमा के भयो भनेको" भन्छ। बलुको आमा झस्किँदै "केही हैन, खाना थप्दिम तँलाई बलु" भन्छे तर बलुको ध्यान भने मोबाइल किन्ने मै थियो, उसले पुग्यो भन्ने इशारा गर्दै हात चुठ्न उठ्यो। बलुको आमा चुपचाप लाएर बेलुकाको धन्दा मन्दा सकाएर सुत्न ओछ्यानतिर लागिन्। बलु ननिदाइकन आमालाई कुरिरहेको थियो। आमा आउने बित्तिकै अङ्गालोमा बाँधिएर बलुले फेरि भन्न थाल्यो "है... आमा हामी नि ठुलो मोबाइल किन्ने ल !?"           क्रमश: . . .

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

विज्ञापन लोड हुँदैछ...
बलु र ट्वाके बाजे ( आमा हामी नि ठुलो मोबाइल किन्ने नि ल !? ) | Edify Nepal