बलु र ट्वाके बाजे ( आमा अनि बलुको चाल )


जोग्क्षेन लामा
लेखक / स्तम्भकार
आमा अनि बलुको चाल
बाजे कहाँबाट आउँदा लगभग साँझ परिसकेको थियो। बलु यसो दायाँ बायाँ हेरेर लुसुक्क घर भित्र छिर्यो। अगेनामा आगो त बलिरहेकै थियो तर आमा चाहिँ खै कता जानु भएछ। बलु मनमनै खुशी हुँदै सोच्न थाल्यो, "धन्न आमा रैनछिन, नभए कता खेल्न गाथिस भनेर कराउनु हुन्थ्यो, अब सिधै होमवर्क गर्न थाल्छु अनि कराउनु हुन्न।"
अरू बेला आफ्नै खाटमा होमवर्क गर्ने बलु आज अगेना छेउमै आएर होमवर्क गर्न थाल्यो। "आमाले छोरो होमवर्क गरिरहेको देखे पछि कमसे कम कराउनु त हुन्न," बलु बाठो, धेरै बाठो। बलु होमवर्क गर्दै आमा कहिले आउनु हुन्छ सोच्दै घरी कपी घरी ढोका हेर्दै बस्न थाल्यो। त्यसरी होमवर्क गर्दागर्दै होमवर्क सकियो तर आमा घरमा आउनु भएन। अब बलुलाई फसाद पर्यो, एक त होमवर्क गर्दै गर्दा आइपुग्नु भएन भन्ने अर्को रात परिसक्दा नि आमा किन आउनु भएन भन्ने। धुवाँ उडिरहेको आगोलाई धुङ्ग्रोले फु... गर्दै फुकेर हुर्र... आगो बल्ने बनाउँदै गर्दा बलुले बाहिर आमाको आवाज सुन्यो। आमाको स्वर सुन्ने बित्तिकै बलु समाइ राखेको ढुङ्ग्रो फालेर हत न पत् हातमा किताब समाई पढ्न थाल्यो।
"एकदिन एउटा बटुवा बास माग्दै एउटा बुढी आमाको घरमा पुगे। बुढी आमा सारै छुच्ची थिई, उसले कसैलाई पनि सहयोग गर्दैनथी..." बलु जोडजोडले कराएर आमाले सुनुन् भनी किताब पढ्न थाल्यो। बलु पुलुपुलु ढोकातिर हेर्दै कराई कराई पढ्न थाल्यो। त्यतिकैमा बलुको आमा टोकरी हातमा समाई घर भित्र पसिन्। त्यसपछि बलु झन् जोडले कराएर पढे जस्तो गर्न थाल्यो।
बलुको त्यो चाल उसको आमाले सजिलै थाहा पाइसकेकी थिइन्। बलुको आमाले नि "कति खेरसम्म चाहिँ पढ्या जस्तो गर्दो रैछ यसले हेरूँ" सोच्दै केही नभनी खाना बनाउन तिर लागिन्। आमाले केही नभनेको देखेर बलु थोरै ढुक्क भयो किनकि अब गाली खान परेन भनेर तर थोरै टेन्सनमा पनि पर्यो किनकि अब कति बेलासम्म पढेको नाटक गर्नु पर्ने हो भनेर।
एकछिनसम्म त बलु च्यट्ठिएरै पढ्यो तर अब उसको पढिरहने तागत हराएर गैसकेको थियो। यो कुरा फेरि उसको आमाले राम्रोसँग थाहा पाइसकेकी थिइन्। उनी बलुको छटपटी देखेर भित्रभित्रै हाँसिरहेकी थिइन्। बलुले अब छटपटी सहन सकेन अनि कुरा सुरु गर्दै भन्यो, "आमा कहाँ जानु भाको तपाई अघि? रातिसम्म?" बलुको कुरा सुनेर थोरै रिसाएको जस्तो गर्दै बलुको आमाले भनिन्, "कहाँ जानु, गाउँ डुल्न गाको, ट्वाके बाजेको गफ सुन्न गाको नि अब"। आमाको जवाफ सुनेर बलुले कुरा बुझी हाल्यो अनि घुसेमुन्टो लाएर निहुरिन थाल्यो।
बलु धेरै बेर सम्म घुसे मुन्टो लाको देखेर आमालाई माया लाग्यो अनि "ल धेरै गुफ्फ फुलेर नबस हात खुट्टा धोएर आइजो" भनिन्। त्यति सुन्ने बित्तिकै बलु जुरुक्क उफ्रेर खुशी हुँदै हातखुट्टा धोएर आमाको छेउमै टुसुक्क बस्यो। अनि सोध्यो, "के तरकारी पकाउने आमा?" बलुको आमाले टोकरीतिर देखाउँदै "उ आलु र गोभी पकाउने" भनिन्। आलु र गोभी देख्ने बित्तिकै बलुलाई ट्वाके बाजेको पल्टनमा खाने खानाको याद आयो अनि "आमा है यो आलु र गोभीमा दुई गाग्री पानी हाल्यो भने कस्तो हुन्छ होला है?" भनेर खितित हाँस्न थाल्यो। आमा पनि "ल तैले नै त्यसरी पका अनि चाखेर कस्तो हुन्छ हेरौला" भन्दै हाँस्न थालिन्।
"हैन तलाई उट्पट्याङ कुरा चाहिँ कहाँबाट आउँछ भन त बलु?" आमाले माया गर्दै बलुलाई सोधिन्। बलुले अघि साँझ त्वाके बाजेले सुनाएको कहानीको बेली विस्तारले आमालाई सुनाए। सबै कुरा सुनेर बलुको आमाले हाँस्दै भनिन्, "उफ्फ... ट्वाके बाजेको गफ पनि..." क्रमश....
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?