चिठी तथा निवेदन लेखन: व्यावहारिक सीप र सही ढाँचा


शान्त लामा
लेखक / स्तम्भकार
विद्यार्थीहरूलाई विद्यालयमा आधारभूत तहदेखि नै चिठी लेखन सीपको विकास गर्न चिठी लेखनसम्बन्धि क्रियाकलापहरू गराइन्छ । यो एक व्यावहारिक सीप हो । यो सीप हाम्रो दैनिक जीवनमा अति उपयोगी सीप हो । यद्यपि पछिल्लो समयमा विद्यालय तहदेखि उच्च शिक्षा हासिल गरिसकेका व्यक्तित्वहरूले समेत आफूलाई आवश्यक पर्दा एउटा निवेदन लेख्नलाई पनि अरूलाई सहयोग लिइरहनु पर्ने बाध्यात्मक स्थिति देखा परिरहेको परिस्थितिमा केही फाइदा पुगोस् भन्ने हेतुले यो आलेख तयार पारिएको हो । यहाँ विशेष गरी निवेदन लेख्ने ढाँचाको विषयमा छोटो चर्चा गरिने छ ।
चिठीको परिचय ः
चिठी लेखन दैनिक जीवनदेखि प्रशासनिक कामसम्म अत्यन्त उपयोगी सीप हो । यसमा मानिसको मनको विचार, सूचना वा अनुरोधलाई स्पष्ट, सभ्य र व्यवस्थित रूपमा व्यक्त गरिन्छ । यो एक व्यक्तिले अर्को व्यक्ति, संस्था वा कार्यालयलाई आफ्नो विचार, भावना वा अनुरोधलाई लेखेर पठाउने माध्यम हो । यसका उद्देश्यहरू निम्नअनुसारका छन् ः
-सूचना आदान – प्रदान गर्नु,
-सम्बन्ध सुदुढ गर्नु,
-औपचारिक वा अनौपचारिक संवाद गर्नु ।
चिठीका प्रकार ः
सामान्यतया चिठी प्रमुख दुई प्रकारका हुन्छन् ।
(क) औपचारिक चिठी र (ख) अनौपचारिक चिठी
(क) औपचारिक चिठी (Formal Letter): औपचारिक चिठी भन्नाले संस्था, कार्यालय, सरकारी निकाय आदिमा लेखिने चिठीहरू हुन् । यसलाई निवेदन/आवेदन पनि भनिन्छ ।
औपचारिक चिठीका विशेषताहरू निम्नलिखित छन् ः
-निश्चित ढाँचा हुन्छ
-भाषा औपचारिक र सभ्य हुन्छ
-उद्देश्य स्पष्ट हुन्छ
औपचारिक चिठीका उदाहरण ः
-निवेदन पत्र
-आवेदन पत्र
-सूचना पत्र
-उजुरी पत्र
(ख) अनौपचारिक चिठी (Informal Letter): अनौपचारिक चिठी भन्नाले आफन्त, साथीभाइ, परिवारजनलाई लेखिने चिठीहरू हुन् ।
अनौपचारिक चिठीको विशेषता ः
-स्वतन्त्र शैली
-आत्मीय, सरल र अनौपचारिक भाषा
-भावना व्यक्तिमा केन्द्रित
उदाहरणः
-व्यक्तिगत हालखबर पत्र
-शुभकामना पत्र
निवेदनको (Application) को ढाँचा ः
निवेदन औपचारिक चिठीको महत्वपूर्ण प्रकार हो, जसमा सरकारी कार्यालय वा संघ, संस्थाहरूमा कुनै अनुरोध, अनुमति, सुविधा वा कामको लागि आवेदन गरिन्छ । निवेदनको ढाँचा अन्य पत्रको भन्दा केही भिन्न हुन्छ । यो लेख्दा निम्नलिखित विषयमा ध्यान दिनुपर्छ ः
-निवेदन सकेसम्म एकै पृष्ठमा लेखी सिध्याउनु पर्छ ।
-यो छोटो हुनुपर्छ, अनावश्यक गन्थन लेख्नुहुँदैन ।
-पढ्दा सजिलै बुझ्न सकिने हुनुपर्छ ।
-विषय स्पष्ट र सङ्क्षिप्त हुनुपर्छ ।
निवेदनको संरचना
शिरोभाग ः सम्बोधन, मिति र विषय
मध्य भाग ः सम्मानसूचक शब्द, पत्र वा निवेदनको मूल भाग
अन्त्य भाग ः संलग्न कागजपत्रको सूची र निवेदकको नाम ।
पद छ भने लेखक / निवेदकको पद र हस्ताक्षर
निवेदनका केही नमुनाहरू
(गरिब तथा जेहेन्दार छात्रवृत्तिको माग)
मितिः २०८३/०३/०९
श्री प्राचार्यज्यू,
श्री जनता माध्यमिक विद्यालय
देउराली–५, संखुवासभा ।
विषयः गरिब तथा जेहेन्दार छात्रवृत्ति पाऊँ ।
महोदय,
उपर्युक्त सम्बन्धमा यस विद्यालयले गरिब तथा जेहेन्दार छात्रवृत्ति प्रदान गर्न आवेदन माग गरेको हुँदा यो निवेदन पेस गरेको छु । म यस विद्यालयको कक्षा ११ वाणिज्य सङ्कायमा अध्ययनरत विद्यार्थी हुँ । मैले प्रवेशिका परीक्षामा र यस तहको प्रवेश परीक्षामा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण गरेको छु । मेरो घरको आर्थिक अवस्था राम्रो छैन । तसर्थ विद्यालयबाट प्रदान गरिने गरिब तथा जेहेन्दार छात्रवृत्तिका लागि आवश्यक कागजपत्र सहित यो निवेदन पेस गरेको छु ।
संलग्न कागजातहरू ः
१. पहिले छात्रवृत्ति पाएको प्रमाण पत्र
२. गाउँपालिकाको सिफारिस–पत्र
निवेदक ः
अनुक्रम धिमाल
कक्षा ११ वाणिज्य समूह
(रोजगारीका लागि निवेदन)
मितिः २०८३/०३/०९
श्री प्रबन्धकज्यू,
ब्द्यऋ कम्पनी
काठमाडौँ ।
विषयः रोजगारीका लागि आवेदन सम्बन्धमा ।
महोदय,
प्रस्तुत विषयको सम्बन्धमा त्यस कम्पनीमा लेखापाल पद रिक्त भई पदपूर्तिका लागि आवेदन माग गरिएको जानकारी कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित सूचनाबाट प्राप्त भयो । म उक्त पदको लागि योग्य ठानी आवेदन दिन चाहन्छु । मेरो योग्यताको हकमा मैले लेखा विषयमा स्नातक तह उत्तीर्ण गरेको छु । यसका साथै मैले यस क्षेत्रमा दुई वर्षको अनुभव पनि हासिल गरेको छु ।
अतः मेरो योग्यता र अनुभवको आधारमा मलाई उक्त पदमा छनौट गरी नियुक्ति दिनुभएमा कम्पनीको हित र उन्नतिका लागि हरसम्भव प्रयास गर्ने प्रतिबद्धताका साथ अवसर प्रदान गरिदिनुहुन विनम्र अनुरोध गर्दछु ।
धन्यवाद !
संलग्न कागजातहरू ः
१. हस्तलिखित आवेदन
२. नेपाली नागरिक्ताको प्रतिलिपि
३. योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि
४. अनुभवका प्रमाणपत्रको प्रतिलिपि
भवदीय
नोर्बु तामाङ
ठेगानाः रामेछाप
सम्पर्क नं. ११११११११११
(खानेपानी उपलब्ध गराउन दिइने निवेदन)
मितिः २०८३/०३/०९
श्री अध्यक्षज्यू,
.........गाउँपालिका
गाउँकार्यपालिकाको कार्यालय
...............................।
विषयः स्वच्छ खानेपानी उपलब्ध गराई पाऊँ ।
महोदय,
प्रस्तुत विषयको सम्बन्धमा ..................गाउँपालिका वडा नं. ४, सल्लाघारी गाउँमा ८५ घरधुरीका २५५ जना मानिसहरू परापूर्व कालदेखि स्थायी बसोबास गर्दै आएका छन् । विगतदेखि हालसम्म यस गाउँका मानिसहरूले कुवा र अस्थायी रूपमा पाइपबाट ल्याइएका पानी उपभोग गर्दै आएकोमा हाल कुवामा पानी सुक्दै गएको र अस्थायी रूपमा ल्याइएका पानी पनि व्यवस्थित हुन नसक्दा यस गाउँका मानिसहरू पानीको अभावमा अत्यन्त कष्टकर जीवन व्यतीत गर्न बाध्य छन् ।
अतः गाउँपालिकाबाट प्राविधिक टोलीसहित स्थलगत अनुगमन तथा निरीक्षण गरी स्थायी रूपमा स्वच्छ खानेपानी उपलब्ध गराई समस्या समाधान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
भपदीय
..................गाउँपालिका, वडा नं. ४
सल्लाघारी गाउँका सम्पूर्ण बासिन्दाहरू
नेपालमा निवेदन लेख्दा प्रयोग गरिने सम्मान सूचक सम्बोधनहरू
१. संवैधानिक पदाधिकारीहरू
पद सम्मानसूचक सम्बोधन
राष्ट्रपति सम्माननीय राष्ट्रपति
उपराष्ट्रपति सम्माननीय उपराष्ट्रपति
प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्री
उपप्रधानमन्त्री सम्माननीय उपप्रधानमन्त्री
सभामुख सम्माननीय सभामुख
राष्ट्रिय सभा अध्यक्ष सम्माननीय अध्यक्ष
उपसभामुख माननीय उपसभामुख
राष्ट्रिय सभा उपाध्यक्ष माननीय उपाध्यक्ष
२. मन्त्री तथा राजनीतिक पदाधिकारी
पद सम्मानसूचक सम्बोधन
मन्त्री माननीय मन्त्री
सहायक मन्त्री माननीय सहायक मन्त्री
राज्य मन्त्री माननीय राज्य मन्त्री
मुख्य मन्त्री माननीय मुख्य मन्त्री
प्रदेश मन्त्री माननीय प्रदेश मन्त्री
संघीय सांसद (प्रतिनिधि सभा सदस्य) माननीय सांसद
प्रदेश सभा सदस्य माननीय सदस्य
३. न्यायपालिका
पद सम्मानसूचक सम्बोधन
प्रधानन्यायाधीश सम्माननीय प्रधानन्यायाधीश
सर्वोच्च अदालतका न्यायाधीश माननीय न्यायाधीश
उच्च अदालतका न्यायाधीश माननीय न्यायाधीश
पुनरावेदन अदालतका न्यायाधीश माननीय न्यायाधीश
जिल्ला अदालतका न्यायाधीश माननीय न्यायाधीश
४. निजामती प्रशासन
पद सम्मानसूचक सम्बोधन
मुख्य सचिव श्रीमान् मुख्य सचिव
सचिव श्रीमान् सचिव
सहसचिव श्रीमान् सहसचिव
उपसचिव श्रीमान् उपसचिव
प्रमुख जिल्ला अधिकारी श्रीमान् प्रमुख जिल्ला अधिकारी
विभागीय महानिर्देक श्रीमान् महानिर्देशक
कार्यालय प्रमुख श्रीमान् कार्यालय प्रमुख
५. सुरक्षा निकाय
पद सम्मानसूचक सम्बोधन
प्रधान सेनापति श्रीमान् प्रधान सेनापति
प्रहरी महानिरीक्षक श्रीमान् प्रहरी महानिरीक्षक
सशस्त्र प्रहरी महानिरीक्षक श्रीमान् सशस्त्र प्रहरी महानिरीक्षक
राष्ट्रिय अनुसन्धान प्रमुख श्रीमान् प्रमुख
६. कूटनीतिक क्षेत्र
पद सम्मानसूचक सम्बोधन
राजदूत महामहिम राजदूत
विदेशी राष्ट्रका राजदूत महामहिम
संयुक्त राष्ट्र संघका स्थायी प्रतिनिधि महामहिम
७. स्थानीय तह
पद सम्मानसूचक सम्बोधन
महानगरपालिका प्रमुख/उपप्रमुख श्रीमान् महानगरपालिका प्रमुख/उपप्रमुख
उपमहानगरपालिका प्रमुख/उपप्रमुख श्रीमान् उपमहानगरपालिका प्रमुख/उपप्रमुख
नगरपालिका प्रमुख/उपप्रमुख श्रीमान् नगरप्रमुख/उपप्रमुख
गाउँपालिका अध्यक्ष/उपाध्यक्ष श्रीमान् अध्यक्ष/उपाध्यक्ष
वडाध्यक्ष श्रीमान् वडाध्यक्ष
प्रमुख प्रशासकीय अधिकृत श्रीमान् प्रमुख प्रशासकीय अधिकृत
८. विश्वविद्यालय तथा शैक्षिक क्षेत्र
पद सम्मानसूचक सम्बोधन
कुलपति सम्माननीय कुलपति
उपकुलपति उपकुलपतिज्यू
रजिष्टार रजिष्टारज्यू
क्याम्पस प्रमुख क्याम्पस प्रमुखज्यू
प्रधानाध्यापक प्रधानाध्यापकज्यू
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?