काठमाडौँ महानगरद्वारा कक्षा ११ का लागि छात्रवृत्ति आवेदन खुला: ४,६२४ कोटा उपलब्ध


edifynepal
लेखक / स्तम्भकार
काठमाडौँ महानगरपालिका अन्तर्गतका ३९० संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ मा छात्रवृत्ति कोटामा विद्यार्थी भर्ना गर्ने सम्बन्धी महत्वपूर्ण सूचना प्रकाशित गरिएको छ। महानगरपालिकाले कुल ४,६२४ सिटमा छात्रवृत्ति प्रदान गर्ने तयारी गरेको छ।
अनलाइन आवेदन सुरु: २०८३ जेठ १ गते, बिहान १० बजेदेखि
आवेदन दिने अन्तिम मिति: २०८३ जेठ ११० गते, राति ११:५९ बजेसम्म
प्रवेश पत्र वितरण: २०८३ जेठ १४ गतेदेखि अनलाइनबाट डाउनलोड गर्न सकिने
परीक्षा मिति र समय: २०८३ जेठ १७ गते, बिहान ८:०० देखि १०:०० बजेसम्म
आवेदन शुल्क: निःशुल्क
विषयगत छात्रवृत्ति कोटा विवरण:
महानगरले विभिन्न संकायका लागि कुल सिट संख्या तोकेको छ। जस अन्तर्गत व्यवस्थापन (Management) संकायका लागि सबैभन्दा बढी २,४९३ सिट सुरक्षित गरिएको छ। यस्तै विज्ञान (Science) संकायका लागि १,७५२ सिट, मानविकी (Humanities) का लागि १७३ सिट, कानुन (Law) का लागि १३६ सिट र शिक्षा (Education) संकायका लागि ७० सिट निर्धारण गरिएको छ।
छात्रवृत्ति वितरणको मापदण्ड:
कुल छात्रवृत्ति कोटालाई दुई मुख्य श्रेणीमा विभाजन गरिएको छ:
१. साधारण समूह (कुल कोटाको ६० प्रतिशत): यस समूह अन्तर्गत सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई ४० प्रतिशत, काठमाडौँ महानगरका स्थायी बासिन्दालाई १४ प्रतिशत, निजी विद्यालयमा यसअघि छात्रवृत्तिमा पढेका विद्यार्थीलाई ५ प्रतिशत र ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दालाई १ प्रतिशत कोटा छुट्याइएको छ।
२. लक्षित वर्ग/आरक्षण समूह (कुल कोटाको ४० प्रतिशत): यस अन्तर्गत सामुदायिक विद्यालयबाट SEE उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि विशेष आरक्षणको व्यवस्था छ। जसमा महिलाका लागि ३३ प्रतिशत, खस आर्यका लागि १७ प्रतिशत, आदिवासी/जनजातिका लागि १५ प्रतिशत र मधेशीका लागि १२ प्रतिशत सिट तोकिएको छ। त्यसैगरी दलितका लागि ९ प्रतिशत, पिछडिएको क्षेत्र र थारुका लागि समान ४–४ प्रतिशत तथा मुस्लिम, अपाङ्गता भएका व्यक्ति र शहीद/बेपत्ता/द्वन्द्व पीडित परिवारका लागि समान २–२ प्रतिशत कोटा सुरक्षित गरिएको छ।
परीक्षा सम्बन्धी जानकारी:
छात्रवृत्तिका लागि लिइने परीक्षा दुई घण्टाको हुनेछ, जसमा कक्षा १० को माध्यमिक तहको पाठ्यक्रममा आधारित १०० वटा बहुवैकल्पिक (MCQ) प्रश्नहरू सोधिनेछन्। परीक्षामा अनिवार्य गणितबाट ३० प्रश्न, विज्ञानबाट ३० प्रश्न, अंग्रेजीबाट ३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न समावेश गरिनेछ। परीक्षा उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अंक ल्याउनुपर्नेछ भने गलत उत्तरका लागि अंक काटिने (Negative Marking) व्यवस्था गरिएको छैन। एक विद्यार्थीले एउटा मात्र संकायमा आवेदन दिन पाउनेछन्।
न्यूनतम योग्यता र आवश्यक कागजातहरू:
आवेदन दिनका लागि विद्यार्थीले SEE मा न्यूनतम १.६ GPA प्राप्त गरेको हुनुपर्नेछ। आवेदनका साथमा SEE प्रवेश पत्र, हालै खिचेको फोटो, नागरिकता वा जन्म दर्ता प्रमाणपत्र, SEE को मार्कसिट र चारित्रिक प्रमाणपत्र पेश गर्नुपर्नेछ। साथै सामुदायिक वा निजी विद्यालयमा छात्रवृत्तिमा पढेको भए अनुसूची १ र २ बमोजिमको सिफारिस पत्र र आरक्षण समूहको हकमा प्रमाणित प्रमाणपत्र आवश्यक पर्नेछ।
विशेष नोट: (विद्यार्थीहरूलाई छात्रवृत्तिको नतिजा प्रकाशन भएपछि मात्र तोकिएका विद्यालयमा भर्ना हुन अनुरोध गरिएको छ। नतिजा आउनु अगावै भर्ना भएका विद्यार्थीहरूले छात्रवृत्तिको सुविधा पाउने छैनन्। यदि पेश गरिएका विवरणहरू झुटा ठहरिएमा आवेदन रद्द गरी कानुनी कारबाही गरिने महानगरले जनाएको छ।)

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?