विज्ञापन लोड हुँदैछ...
मुख्य पृष्ठमा जानुहोस्

SEE सकियो? अब के गर्ने?

SEE सकियो? अब के गर्ने?
edifynepal

edifynepal

लेखक / स्तम्भकार

मितिबैशाख ०२, २०८३
भ्युज९५

बधाई छ! सकियो नि है? नतिजा जे जस्तो भए पनि, एउटा महत्त्वपूर्ण परीक्षामा सामेल भई पूरा गर्यौ, त्यो नै ठूलो कुरा हो। कसैलाई राहत महसुस भइरहेको होला, कसैलाई कहिले नतिजा आउला भन्ने उत्सुकता भइरहेको होला, कसैलाई परीक्षा बिग्रियो भन्ने चिन्ता होला। नआत्तिऊ, यस्तो तिमीभन्दा अगाडि परीक्षा दिने तिम्रो बुवा, आमा, दाइ, दिदी, शिक्षक सबैलाई भाकै थियो। तिमीहरूलाई पनि भइरहेको छ र तिमीभन्दा पछि परीक्षा दिनेहरूलाई पनि पक्कै हुनेछ।

 

यही अवस्थामा एउटा ठूलो प्रश्न पनि आइलाग्छ, अब के गर्ने? गज्जब प्रश्न, अब के गर्ने?

 

१. आराम गर। चिलमा बस ( Just Chill )

SEE, SEE भन्दा भन्दै, सोच्दा सोच्दै वर्ष बित्यो, अब त परीक्षा सकिसक्यो। त्यसैले आराम गर, दिमागलाई फ्री राख। चिलमा बस।

 

२. नतिजाको बारेमा नसोच ( Stop Overthinking )

तिमीले परीक्षा दिइसक्यौ, अब तिमीले कस्तो लेखेका छौ त्यस्तै नै नतिजा आउनेछ। अब चिन्ता गरेर, त्यसको बारेमा सोचेर केही बदल्नेवाला छैन। अब नतिजाको बारेमा नसोच।

 

३. आफैलाई सोध ( Question Yourself )

आफूसँग कुरा गर अनि सोध, के गर्न मन छ भनेर। साथीले यो गर्ने रे भन्दैमा तिमी पनि त्यही गर्ने भनेर नसोच। यसो गर्दा पछि आफूले सोचे जस्तो नहुन सक्छ। फेरि आफूलाई अलि असहज हुनेबित्तिकै फलानो साथीलाई दोष थोपर्न पुग्छौ। त्यसैले आफूले आफैँलाई सोध। सबैको सल्लाह सुन अनि आफ्नो निर्णय आफैँ लेऊ।

 

४. क्षेत्र / विषय को बारेमा बुझ ( Query About Your Interested Field / Subject )

तिमीलाई कुन क्षेत्रमा अलि चासो लाग्छ, त्यसको बारेमा खोज, बुझ।

प्रविधि मन पर्छ? फिल्म मेकिङ मन पर्छ? कला मन पर्छ? खेलकुद? कुकिङ? कन्टेन्ट क्रियसन? इन्जिनियरिङ? आदि, इत्यादि।

 

सबै विषयको बारेमा खोज, सोध। विभिन्न ग्रुपहरू हुन्छन् फेसबुक, इन्स्टाग्राम, रेडइट सबैतिर। त्यहाँ गएर सम्बन्धित क्षेत्रमा काम गरिरहेका मान्छेहरूको कुराहरू सुन।

 

हैन, तिमी ल्याङ्ग्वेज पढेर विदेश जान्छु सोच्छौ भने ठिक छ, मज्जाले त्यसमै ध्यान देउ।

 

५. कलेज छनोट ( Choose Institution Wisely )

महँगो पैसा, राम्रो ड्रेस, ठूलाठूला बिल्डिङ हुनुको मतलब पढाइ राम्रो छ भन्ने होइन। पहिले कलेजको पास्ट रेकर्ड बुझ, दायाँबायाँको वातावरण बुझ, आफ्नो बसाइँसँग कलेजको तालमेल बुझ। धेरै टाढा भयो भने आवतजावतमा नै धेरै समय खेर जान्छ।

 

६. इन्टरनेटलाई आफ्नो अनुकूल प्रयोग गर ( Use Internet, Do Not Let Internet Use You )

धेरै जनासँग मोबाइल छ अहिले, इन्टरनेट छ। त्यसलाई रमाइलोको लागि मात्र नभई आफूलाई काम लाग्ने तरिकाले प्रयोग गर।

 

# तिमीलाई के कुरा जान्न मन लागेको छ, त्यो तिमीभन्दा खाली एक खोजी मात्र टाढा छ। गुगल प्रयोग गर, युट्युबमा हुने शैक्षिक सामग्रीहरू हेर, आफूलाई राम्रो लाग्ने विषयको बारेमा खोजौँ, हेरौँ।

 

# अनलाइन गेम खेल्छौ? ठिक छ, समय मिलाएर खेल। यदि अलि राम्रो खेल्छु जस्तो लाग्छ भने प्रोफेसन नै बनाउने तरिकाले प्रयास गर। सभ्य भएर खेल, गाली गलौज गरेर खुब दादा बन्ने नसोच, यो बिल्कुल ठिक होइन।

 

# टिकटक, रिल बनाउँछौ, ठिक छ। भाइरल, देखावटी चक्करमा नलाग। आफू जस्तो छौ त्यसरी नै प्रस्तुत हौ। आफ्नो कला छ भने प्रस्तुत गर। फेरि पनि भन्छु, भाइरलको चक्करमा आफ्नो अस्तित्व नबिर्स। एकछिनको रमझमले जिन्दगी तिर्मिर होला...

 

# अनलाइन डन नबन। अब स्कुल सकिसक्यो, कोसँग डर नसोच। अनलाइनमा अरूलाई तथानाम भन्ने, कमेन्ट गर्ने काम नगर। बिजोग हुन्छ जिन्दगी फेरि।

 

७. तयार होऊ ( Be Ready )

आफूले आफूलाई जस्तो सुकै परिस्थिति पनि सामना गर्न सक्छु भन्ने हिसाबले तयार बनाऊ। नतिजा जे जस्तो आए पनि तिमी त्यहीअनुसार आफूलाई तयार राख। नमात्तिनु र नआत्तिनु।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

विज्ञापन लोड हुँदैछ...
SEE सकियो? अब के गर्ने? | Edify Nepal