विज्ञापन लोड हुँदैछ...
मुख्य पृष्ठमा जानुहोस्

बलु र ट्वाके बाजे ( पहिलो पाइला )

बलु र ट्वाके बाजे ( पहिलो पाइला )
जोग्क्षेन लामा

जोग्क्षेन लामा

लेखक / स्तम्भकार

मितिचैत्र १०, २०८२
भ्युज९०

पहिलो पाइला

 

 

"बलु" उसको सबैले बोलाउने नाम हो। खासमा नाम त बलदेव हो तर सबैले बलु, बलु भनी बोलाउँछन्। फुल्तुङ्ग गाउँको बलु ६ कक्षामा पढ्छ, गाउँ भरीमा उसको दौँतरी केटा साथी कोही पनि छैनन्, उसका दौँतरी सबै केटी मात्र छन्। अलि सानो छउन्जेल त सँगै खेल्थ्यो बलु सबैसँग तर अब बलुलाई केटी साथीसँग त्यति मन लाग्दैन। बलुलाई उठी लात, छोइडुम, फुटबल खेल्न मन लाग्छ, रूख चढ्न मन लाग्छ, दौडिन मन लाग्छ, उफ्रिन मन लाग्छ तर उसलाई मन लाग्ने खेल्ने कोही साथी छैनन्। अरू उसका दौँतरीहरू नाच्ने, गाउने, शृंगार त्यस्तै मात्र खेल्छन्। 

 

अप्ठेरो, बलुलाई मन लाग्ने अरूले गर्दैनन्, अरूलाई मन लाग्ने बलुलाई मन लाग्दैन। सानैमा एक्लिएको बलु आजकल स्कुलबाट फर्किने बित्तिकै खुरुरु कुदेर ट्वाके बाजे कहाँ पुगिहाल्छ।

 

ट्वाके बाजे गाउँकै फेमस मान्छे हुन्। ट्वाके बाजेले जमानामा नगरेको, नभोगेको, नदेखेको, नसुनेको केही पनि बाँकी छैन होला सायद। साँचो हो कि झुटो हो तर ट्वाके बाजेको गफ सुन्दा यस्तो लाग्छ कि संसारको सबै कुरा थाहा भएको एक नम्बरको ज्ञानी मान्छे उनी हुन्। जति जति ट्वाक थप्दै जान्छ उति उति ट्वाके बाजेको गफ रोमान्चक हुँदै जान्छ। त्यसैले बलु मौका मिल्ने बित्तिकै ट्वाके बाजे खोज्दै पुगिहाल्छ।

 

  आज बलु दौडिँदै ट्वाके बाजेको आँगन छेउ के पुगेको थियो, उसको नाकमा गुलियो, मिठो बास्ना स्वाट्टै ठोक्कियो। बलुले मनमनै "आहा कस्तो मिठो बास्ना आएको, खान पाए त" सोच्यो अनि थुक घुटुक्क निल्यो। नसोचोस् नि कसरी, भर्खरको केटो अरूले केही खाएको देख्दा नि यसै थुक आउने बेला त्यसमाथि स्कुलबाट आउने बित्तिकै खाजा नै नखाईकन कुदेको, खान मन लाग्ने त यसै भइहाल्यो। खाजा खान घर बसेको भए त खाजासँगसँगै काम पनि पाउँथ्यो बरु खाजा नि नखाने काम नि नगर्ने सोचेर कुदेको बलुलाई त्यो बास्नाले विचलित बनायो। थुक निल्दै बलुले यसो ट्वाके बाजेको आँगनतिर चियायो। ट्वाके बाजे पिँढीमा लम्पसार परेर जेरी टोक्दै थिए, त्यो देखेर बलुको मुखमा झन् पानीको झरना निस्क्यो अनि आफूले नि खान पाउँछु कि सोच्दै थुक निल्यो।

 

आँगनको डिलबाट चिहाइरहेको बलुलाई देख्ने बित्तिकै बाजेले "ए बलु, आइस? एता आइजे" भनेर बोलाए। बलु पनि खुशी हुँदै गएर पिँढीमा थचक्क बस्यो।

 

बाजे आफ्नै सुरले जेरी चपाउँदै थिए, बलुलाई पनि कस्तो जेरी खाऊँ खाऊँ लागेर थालमा पुलुक पुलुक हेर्दै बसिरह्यो। जेरी सकाउँदै ट्वाके बाजेले बलुलाई हेरे अनि मुसुक्क हाँस्दै "के टुलुटुलु हेरिरहेको?, जेरी खादैनस्? लिएर खा" भने। त्यति भन्ने बित्तिकै बिरालोले मुसालाई झम्टे जस्तो गरेर २/३ ओटा जेरी हातमा लिएर एकैचोटी जुठो गर्न लाग्यो।

 

त्यो देखेर ट्वाके बाजे हाँस्दै बलुको हातमा प्याट्ट पिटे अनि भने "गधा, तँलाई एउटा एउटा गरी खान सक्दैनस्? कति लोभ गरेको"। बलु ङिच्च हाँस्यो अनि "कस्तो खान मन लाथ्यो त्यही भएर" भन्दै एउटा मात्र जेरी हातमा समाई अरू थालमा राख्यो। "लोभ पो गर्छ त यो बलु" भन्दै ट्वाके बाजे जेरी उठाउँछ।

 

"ल सुन बलु " पल्टन र जेरीको कथा" " भन्दै बाजेले जेरी चपाए। कथा भन्ने बित्तिकै बलुले आँखा ठुल्ठुला बनाए, कान ठाडो पार्दै कथा सुन्न तयार भए ….                                                         क्रमश ….

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

विज्ञापन लोड हुँदैछ...